•   १७ श्रावण २०७८, आईतवार
  •   11:35:39 PM

बचपन, असार र दैनिकी – सुवाश जमरकट्टेल

- जेष्ठ ३०, २०७८ मा प्रकाशित


बचपन, असार र दैनिकी
कुरा २०÷२२ बर्ष अगाडिको हो । जुन बेला शैक्षिक सत्र पुषबाट सुरु हुन्थ्यो । जेष्ठ महिनामा अर्ध वार्षिक परिक्षा भएर असारबाट लगभग २ महिना बर्षे विदा हुन्थ्यो । स्कुल कहिले विदा हुन्छ र खेल्न पाइन्छ भन्ने लाग्थ्यो । तर यो बेला भने कहिले मुसलधारे त कहिले सिमसिम पानी परि रहने, घरमा खेतिपाती लगाउने चटारो, घाँस स्याउला काट्नु पर्ने, जताततै हिलैहिलो हुने, जुका लाग्ने समयमा यति लामो विदा हुँदा पनि खासै रमाईलो लाग्दैन् थियो । व्याँसीमा भन्दा लेकमा खेती लगाउने सिजन अलि छिटै सुरु हुने हुँदा अझ नेचाको माथिल्लो क्षेत्रका विद्यालयहरु जेष्ठको अन्तिम तिरबाटै विदा हुन्थे । कहिले काँही त विद्यालय विदा हुन १÷२ दिन बाँकी हुदै घरमा कोदो रोपाइको मेलो सुरु हुने हुँदा स्कुल छोड्नु पथ्र्यो । जसले गर्दा बर्षे विदाको होमवर्क ल्याउन पाईदैन्थ्यो ।
फाट्टफुट्ट मेलापातको काम सघाउने बाहेक विहान एक भारी घाँस ल्याउने, दिउँसो बस्तु बाख्रा चराउने, बेलुका एक भारी स्याउला ल्याउने काम नै मुख्य हुन्थ्यो त्यो बेला । डोकोको पिंधबाट पानी चुहाँउदै घाँस बोक्दाको पिडा अहिले सम्झिंदा रोचक कथा झैं लाग्छ । उद्यान ढुङ्गा, विरोले गैरा, पाथिभरा भिरमा घाँस काट्न जाँदा विष्ट काका, भण्डारी हजुर हजुरबा, विरबल र विर्ख बहादुर राई हजुरबा, तिङ्लाल्नी हजुर आमाहरुले सुनाएका दन्त्य कथा, भुतका कथा, कालिमसानका कथा साँच्चै झैं लाग्थ्यो । राती सम्झियो भने डरले निद्रै लाग्दैनथ्यो । घाँस काट्न जाँदा गीता, सीता, कमला दिदीहरुले भारी पु¥याई सक्दा मेरो भने निम्ठो डोको भएकै हुदैन् थियो । अनि सबैले यो अल्से भन्दै घाँस काटेर भारी पु¥याई दिनु हुन्थ्यो ।
एक दिनको कुरा हो, हामी उद्यान ढुङ्गामा घाँस काट्दै थियौं । लगभग भारी पुग्नै लागेको थियो । पाथिभरा भिर तिर कोही रुदै कराउँदै गरेको आवाज आयो । कहाँ के भयो भनेर बुझ्दा घाँस काट्ने क्रममा कोलढुङ्गा भेषनाथ कट्टेलकी बहिनी भिरबाट लडिछन् । त्यसैले विचरा साथमा भएकी आमाले रुदैै चिच्याउदैं सहयोगको याचनाको लागि कराएकी रहिछन् । वरपर भएका २÷४ जना ठुला मान्छेहरु जम्मा भए, हामी केटाकेटीहरु माथि डिलमा बसेर हेर्ने मात्र भयौं । एक दुई घण्टाको कठिन परिश्रम पछि भिरको अक्करबाट क्षतविच्क्षत भएको लास निकाले, त्यति बेला सम्ममा गाँउबाट पनि एक दुई जना ठुला मान्छेहरु कोदालो, झम्पल, सेतो कपडा र एक मानो चामल लिएर आई पुगे । सबै मिलेर त्यँही ढुङ्गाको च्यापमा अन्तेष्टि गरी दिए । छोरीसँगै घाँस गएकी आमालाई आफैले बोकेर लगेको डोकोमा अचेत अवश्थामा बोकेर घर फर्किए गाँउलेहरु । त्यो घटना देखे देखि भिरमा घाँस काट्न जानै डर लाग्थ्यो ।
अहिले असार लागेर दर्के पानी पर्दा त्यो बेला वस्तु बाख्रा चराउन जाँदाका थुप्रैं स्मरणीय घटनाहरु ताजा बनेर मनस्पटलमा दौडिन्छन् । विरोले भिर, जुरेले भिर, सिधारे भिर हामीले दैनिक बस्तु बाख्रा चराउने क्षेत्रहरु हुन् । रोचक कुरा त हामी सोलुखुम्बु जिल्लाबाट माथि उल्लेखित ओखल्ढुङ्गाको भुमिमा दैनिक बस्तु बाख्रा चराउन लान्थ्यौं, ल्याउथ्यौं । बस्तु बाख्रा भिरमा छोडेर हामी गोठालाहरु काफल, ऐसेलु, गोलकाँक्री, पुरुनी, बाँदर बेटी, गुहेली (मललिडो) खान थाल्थ्यौं । कहिले कालिज लखेटेर मार्ने, समाउने, कहिले मृग घोरल कुदाउने गथ्र्यौं । एक दिन बेलुका गाईबस्तु जम्मा गरेर घर खेद्न खोज्दा विष्णु बडिबुबाको एउटा बाख्रो भेटिएन । घरमा साना जुम्लिया पाठा भएको ठूलो बाख्रो नभेटिए पछि भिम रुदैं रुदैं घर आउनु पर्यो । भोलिपल्ट विहान बढिबा, काकाहरु खेज्न जाँदा बाघले खाएर खुट्टा र आँद्राभुँडी मात्र छोडेको रहेछ रे । त्यस पछि त्यतातिर बाख्रा चराउन लानै छोडियो ।
बाख्राबस्तु चराउन छोडेर हामी घर बनाउने, गोठ बनाउने, विरुवा रोप्ने, चौतारो बनाउने, बाटो बनाउने खेल खेल्थ्यौं । जसले गर्दा काम गर्ने बानी र सीपको विकास हुन्थ्यो । कहिले सुकेका पात्लेका रुखमा पलाउने च्याउ टिपिन्थ्यो । उक्त च्याउको स्वाद माछा मासुको भन्दा कम हुदैन थियो । कहिले डाडामा बसेर ओखलढुङ्गा र खोटाङ्गका विभिन्न ठाँउको अवलोकन गर्दै “वरिपरी एक्का …. देख्खा” भन्ने खेल खेल्थ्यौं । जसले छिटो र बढि ठाँउ देखाउछ उनै प्रथम हुन्थ्यो । प्रथम हुनेले पुरस्कार स्वरुप गाई बाख्रा फर्काउन जानु पर्दैंन्थ्यो । तल बग्ने दुधकोशी नदी र सिलौरी फाँटमा रोपाईं गरेको हेथ्र्यौ । कहिले आकाशमा उड्ने बौंडाइ चरिलाई हेरेर “नाच बौंडाइ नाच पैसा दिउला पाँच” भन्थ्यौं । नभन्दैं बौंडाइ चरी हाम्रैं टाउका माथि आएर नाचे झैं गरी हामीलाई जिस्क्याउथ्यो । हावाका झोक्काले उठाइका कुहिरोका थुम्काहरुलाई हेरेर “कुद कुहिरो कुद तेरा घर चोर पसो नाङला डाला ठटायो, बुढो भैसी काटेर भारमा सुकायो कुद कुहिरा कुद” भन्थ्यौं । एक दिन डाडागाँउ राजन हजुरबाको गाई भिरबाट लडेर ढाड भाँचिएछ । २ दिन सम्म लडेकै ठाँउमा घास पानी खुवायौं । तेस्रो दिन बाँसको खट बनाएर सबै गोठाला मिलेर गाई बोकेर घर ल्यायौं । त्यसै बेला हो मैले कुनै पशु वा मान्छेको ढाड भाँचियो भने कति दुःख, पिडा र कारुणिक अवश्था हुन्छ भनेर बुझेको । दैवको खेला आज आफैंले सोही पिडा र चोट सहनु परिरहेको छ ।
पानी परेको बेला विरोले भिरको भ्यागुते ओडारमा बसिन्थ्यो । हरिया मकै, आलु पोलेर खाइन्थ्यो । भिरको टाकुरामा ५÷७ जना मजाले बस्न मिल्ने पानी नपर्ने अचम्मको थियो भ्यागुते ओडार । त्यस ओडारको नाम कसरी भ्यागुते रहन गयो कसैसँग आज सम्म सोधिएको छैन् । एक दिन विहान बस्तु बाख्रा लिएर जाँदा उक्त ओडारमा घोरल सुति रहेको रहेछ । लगभग ३०० मिटर वरैबाट रेवत काकाले ढुङ्गो हान्नु भयो । ढुङ्गो घोरल सुते भन्दा अलि माथि पहरामा लाग्यो । पहरो थर्केर आवाज भने निकै ठुलो आयो । सुतिरहेको घोरल तर्सेर अचानक हामफाल्दा तल सिस्नाघारी भित्र चुच्चे ढुङ्गामा परेछ । उक्त घाइते घोरल समाउन जाँदा हामी ५÷७ जनालाई नै घोरलले लात्तले हानेर सिस्नाघारीमा लडाउँदा उल्टै हामीलाई नै घाइते बनाएको अहिले झैं लाग्छ ।
पानी परेका बेला मने हजुरबाले माया गदैं बाँसको चोयाले बुनेको भोर्लाका पातले छापेको घुम ओडाउदाको आनन्द अझैं न्यानो लागि रहेको छ । उक्त घुम र एउटा भेडो भने हजुरबाका घनिष्ट हितैसी मित्र थिए । गोठालो आउँदा जहिल्यैं घुम बोकेरै आउनु हुन्थ्यो । भैंसी, गाई गोरुका हुलमा एउटा मात्र भेडो पाल्नु उहाँको विशेषता थियो । खेमराज कट्टेलको पाटे गोरु र युवी राईको माले गोरु जुध्नमा निकै सिपालु थिए । एक दिन त माले गोरुले केदार भाईको सिदुरे गोरुको सिङ नै भाँचि दियो ।
झिमझिम पानी पर्ने, डम्म कुहिरो लाग्ने, बाटा भरि जुका लाग्ने सम्झिदा निकै कष्टकर थियो त्यो बच्पन । बर्षामास बस्तु बाख्रा चराउने मने हजुरबा, अन्तरे पण्डित हजुरबा, कुईभिरे राई काका, बीरबहादुर खडका काका, युवी (युवराज) राई, खेमराज कट्टेल, रेवत काका, फडिन्द्र काका, जोरमन तिङलाली, कर्ण, लिला भट्टराई, हरी कट्टेल, भगेन्द्र खनाल, रघु खनाल, कुमार विष्ट, चेतबहादुर भण्डारी, अडि भण्डारी, दिपक, भिम कट्टेल, केदार, एकराज, बसन्त, विनोद भाइहरु सँगको त्यो रमाइलो पल अहिले पनि असार लागेर पानी बर्षिन थाल्दा झलझली आँखामा आईरहन्छ ।

Comments