•   १७ श्रावण २०७८, आईतवार
  •   11:49:47 PM

भाउजूूसँगै भित्रिएकाे काेभिड (आइसोलेसन डायरी-४ )

- जेष्ठ २, २०७८ मा प्रकाशित


  • निशंम खरेल (राधा)

दाइकाे बिहे हुने कुराले मनमा भरिदिएकाे उत्साहले कुनै सिमा काेर्न जानेकाे थिएन। हुन त घरकाे पहिलाे बिहे; घरमा लक्ष्मीकाे अागमन हुने कुरा अाफैँमा सानाे उत्साहकाे कुरा हाेइन। वैशाख १७ गतेकाे दाइकाे बिहे लगन अनि मेराे अन्तिम परीक्षाकाे संगम मनमा खट्किरहेकै बेला अचानक १३ गतेकाे सन्ध्याले परीक्षा स्थगित भएकाे खबर मेरा कानसम्म उडाई ल्याउदा मेराे मन पुतली बनेर स्वपन बगैँचामा कत्तिबेर फुरफुर उडेकाे थियाे।

फुरुङ्ग भएकाे मन बाेकेर म पनि बिहेकाे तयारीमा लागेकी थिएँ। १६ गते जाने भनिएकाे जन्ती अप्रत्याशीत रुपमा १४ गते राती नै जानुपर्ने भयाे – १५ गतेकाे लगनमा बिहे सक्काएर १६ गते देखि लागू हुने निषेधाज्ञा पालना गर्न काठमाडाैँ फर्किने सल्लाह परिवारमा भएकाे थियाे।

१४ गते साँझ मस्तले गीतका बाेलमा अाफ्नाे जिन्दगी बाेल्दा बाेल्दै मम्मीले अाएर- “बिहेकाे जन्ती अाजै जाने भए रे,ल काे काे जाने तयार हाेअाै छिट्टै, ९ बजे हिड्ने हुन रे।” भन्दा एकछिन त मज्जा नै खल्लाे भयाे। बिहेकाे तयारी पाे गरियाे दिनभर, अाफ्नाे तयारी त पूर्ण शून्ना थियाे। एकमनले हाेस्, जान्न भन्ने पनि साेचेँ। बाबा भाेली मात्र अाउने कुरा थियाे। मम्मी र दिदी नजाने हुनुभयाे। भाइ भने म गएँ भने जाने भन्न थाल्याे। हुन त म यस भन्दा पहिले कुनै विवाहमा सहभागी हुन पाएकी थिइनँ, जाने इच्छा अौधी थियाे;
मनकाे रङ्गशालामा विचारहरुकाे घम्साघम्सी भयाे एकछिन, अत: परीक्षा स्थगीत नै गराएर प्रभुले जुराएकाे बिहे नछुटाउने मतकाे विजय भयाे।

हतार हतार तयार भएर हामी फुपूकाे घरतर्फ लाग्याैँ। ९ बजे जाने भनिएतापनि १०ः३० बजेकाे अासपास हामी ड्राइभर र २ जना फोटोग्राफर सहितकाे १४ जनाकाे टाेली बुटवलतर्फ अग्रसर भयौँ।

मास्क र स्यानिटाइजर बाेकेर भाउजू लिन हिडेँका हामीलाई
भाउजू सँगै काेभिड पनि भित्रिन्छ भन्ने कुराकाे लेश मात्र पनि सन्देह थिएन। यात्रामा मैले मेरा एकजना मित्रलाई म्यासेज गर्दै भनेकी पनि थिएँ – “म अाज कसैकाे जीवनलाई परिवर्तनकाे घुम्टाे अाेडाउने यात्रामा सहभागी हुन जाँदै छु। अरुका जीवनमा परिवर्तनका रङ्ग पाेत्न अाफू कत्ति पनि परिवर्तन हुनु नपर्ने रहेछ है?” तर यात्राले मलाई गलत साबित गरिदियाे। हामी सबै केहि न केहि अायाममा परिवर्तन भएरै फर्कियौँ।

हुन त विवाह काेभिडकाे जाेखिमलाई ख्यालमा राखेर, सुरक्षित तवरले सम्पन्न गरिएकाे थियाे। दुलही पक्षबाट पनि १०-१२ जना मात्र सहभागी हुनुहुन्थ्याे। १५ गते बेलुकी हामी भाउजूलाई साथमा लिएर ६ः३० बजे बुटवलबाट हिड्यौँ। यात्रामा जाँदा ५ घण्टा र अाउँदा ७ घण्टा जाममा परेर कष्ट काट्दै, बुटवलकाे गर्मी छिचाेलेर अाफू भन्दा पनि कान्छी, नवविवाहित भाउजूलाई लिएर १६ गते बिहान ११ बजे हामी घर अाइपुग्याैँ।

घरमा राम्रै चहलपहल थियाे, दुलही भित्र्याउने विधिहरु पुरा गरेर साँझपख म फूपुकाे घरबाट अाफ्नाे घर अाएँ। यात्राकाे थकानले जीउ पुरै गलेकाे थियाे; टाउकाे र खुट्टाकाे दुखाई शब्दमा बयान नहुने तवरकाे थियाे। खाटकाे प्रेमिल सानिध्य पाएपछि म स्वप्न संसारमा टहल्न निस्केँ। निक्कै बेरकाे घुमघाम पछि भाेकले रन्थनाएर उठायाे, उठेर पेटपूजा गरेर फेरी स्वप्न संसारकाे माेहकताले त्यतै खिचिएँ। निन्द्रा नपुर्याएकाे पनि ३ दिन भैसकेकाे थियाे, मज्जाले सुतियाे।

सबेर उठ्दा त दुखाई, अारामकाे प्रहारले घायल भएर डाँडाे काटिसक्याे हाेला भन्ने लागेकाे थियाे। बाफ उडिरहेकाे तात्ताताे चियामा बडाे निर्दयी भएर एउटा बिस्कुटकाे ज्यान झोसिदिँदा, त्याे बिस्कुट कसरी लत्याकलुतुक गल्छ; मेराे ज्यान पनि ज्वराेकाे तापले त्यसरी नै गलेकाे रहेछ। म उठ्नै सकिनँ। भाइलाई पनि उता ज्वराेले सुताएकाे रहेछ। सिटामोल खाएर दिनभरी अाराम गर्यौँ, सिटामोलले ज्वराे काटिहाल्याे, तर शक्तिहीन ज्यान सम्हालेर दिन काट्न मलाई धौ-धौ परिरह्याे।

अर्काे दिन पनि अाेछ्यानसँग बात मारेरै बिताएँ, अलि अलि रुघा-खाेकिकाे सिम्टम पनि देखा पर्दै थिए। काेभिड संक्रमण हाेला जस्ताे चाहिँ लागेकाे थिएन। हामी यात्राकाे थकानलाई अाराेपित गर्दै थियाैँ। खान-पानमा लापर्वाही, अनिन्द्रा, बुटवलकाे गर्मी, र जाममा लामाे समय बस्नु परेकाले ज्यानलाई बिसन्चाे भएकाे हाेला भन्ने अड्कल काट्दै थियाैँ।

त्याे रात भाइ ज्वराेले निस्लाेड भयाे। ज्वराे बढेर १०० डिग्री फरेन्हाइट पुगेपछि सबैकाे मन कता कता डरले चिस्सिहाल्याे। सिटामाेल खुवाउँदा, पानी पट्टि गर्दा पनि ज्वराे घट्दै नघटेपछि अस्पताल लाने निर्णय गर्यौँ। फेरी केहि गरी मौसम परिवर्तन र यात्राले गर्दा अाएकाे ज्वराे रहेछ र अस्पताल धाउँदा फगत् काेभिड संक्रमण हुने हाे कि भन्ने भयले भाइलाई अौषधी खुवाएर मुस्किलले सुतायौँ।
भाेलिपल्ट भाइकाे ज्वराे पनि घटेकाे थियाे। अाफ्नाे निर्णयमा गर्व गरे सबै परिवारजनले। मम्मी पनि अलि अलि गर्दै सुस्ताउन थाल्नु भएकाे थियाे। रुघाखाेकि र टाउकाे दुखाईले म र भाइ उत्तिकै ग्रसित थियाैँ। २० गते मम्मीले स्वाब परिक्षणका लागि स्वाब दिएर अाउनु भएकाे रहेछ। बेलुकी खाना पकाएर म सबैलाई खाना खाने निम्ताे दिन तल झरेकी थिएँ, मम्मी साेचमग्न हुनुहुन्थ्याे।

पछि बुझ्दै जाँदा थाहा भयाे, मम्मीलाई काेभिड पाेजिटिभ देखिएछ। एकछिन सबैजना छाङ्गाबाट खसेझैँ भयौँ। मेराे र भाइकाे हालत पनि शंकास्पद थियाे। राती अबेरसम्म घरमा चिन्ताजनक माहाेल रहिरह्याे। भाेलिपल्ट बिहानै हाम्राे पनि पि.सि.अार टेस्ट गरियाे। साेच बमाेजिम नै हामी पनि सङ्क्रमित भएकाे पुष्टि भयाे।

मान्छेकाे मनाेविज्ञानले कत्ति ठूलाे भूमिका निर्वाह गरेकाे हुन्छ उसकाे जीवनका अनुभूतिहरुमा। काेभिड पाेजिटिभ भन्ने ज्ञात हुना साथै हाम्राे स्वास्थ स्थिति खस्किहाल्याे। दिदी पनि हुनुहुन्थ्याे घरमा, तर दिदीले काेराेना बिरुद्धकाे खाेपकाे दुवै डाेज लगाएकाे र उहाँकाे स्वास्थावस्था पनि अनुकूल भएकाे हुनाले उहाँकाे भने टेस्ट गरिएन।

परिवारमा हाम्राे हेरचाह गर्ने दिदी हुनुभयाे। प्यारासिटामाेल, साइनेक्स, कफ सिरफ, भिटमिन ‘सि’ र ‘डी’ काे सप्लिमेन्ट, जिङ्क सप्लिमेन्ट, राेग प्रतिराेधात्मक शक्ति बढाउनका हेतु गिलाेय जुस ; बेसार, ज्वानाे, तुलसी, लसुन, अदुवा, पुदिना, अम्बाका पातकाे अत्याधिक सेवन सुरु गरियाे। हामी तिनै जना हाेम अाइसाेलेसनमा बस्याैँ। काेभिडले लडाएपछि उठ्न भने ज्यादै कठिन हुने रहेछ।

यो रोग लाग्दा सुरुमा रुघाखोकीकै जस्ता लक्षण र चिन्हहरु देखा पर्ने रहेछन्। टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने, नाक बग्ने र बन्द हुने, घाँटी दुख्ने, हाछ्युँ आउने, आँखा रातो हुने, शरीर दुख्ने, आँसु आउने, मांसपेसी दुख्ने, जोर्नी दुख्ने, पेट दुख्ने, पखाला लाग्ने, वाक वाक लाग्ने, वान्ता आउने, सुक्खा खोकी लाग्ने, सास फेर्न कठिन हुने,अादि। शरीरमा शक्तिकाे अभाव हुनु, खाना नरुच्नु, स्वाद र बास्नाकाे सेन्स हराउनु स्वाभाभिक नै मान्नु पर्ने रहेछ।

काेभिड पाेजिटिभ देखियाे भन्दैमा बढी आतिइहाल्नुपर्ने अवस्था चाहिँ छैन । किनकि रोग लागेपछि हाम्रो शरीरले रोगविरुद्ध लड्ने क्षमता विकास गर्दै जाने, भाइरसलाई परास्त गर्ने र रोग आफैं निको भएर जाने रहेछ। तैपनि बिरामीको अवस्था हेरेर कडा खालको लक्षण देखिएमा अस्पतालमै भर्ना गरेर विशेष उपचार गरी राख्नुपर्ने अवस्था पनि आउन सक्छ। अन्यथा यो रोग लाग्दैमा तर्सिनु पर्दैन।
बरु लक्षणअनुरूपको औषधि खाने जस्तैः ज्वरो आउने र टाउको दुख्ने भएमा सिटामोल खाने चाहिँ गर्नुपर्छ।

याे अवस्थामा खानपानमा विशेष ध्यान दिने; फलफुल, सागपात तथा हरिया तरकारीजस्ता प्राकृतिक खानेकुरा धेरै खाने, मासुजन्य परिकार राम्ररी पकाएर मात्र खाने, विशेषगरी प्राेटिनयुक्त खानेकुरा खाने र सकेसम्म कार्बाेहाइड्रेट र फ्याटकाे मात्रा कम भएका खानेकुराकाे सेवन गर्ने, प्रशस्त मात्रामा उमालेको पानी पिउने, झोलिलाे पर्दाथ पर्याप्त मात्रामा पिउने गर्नुपर्छ।

कुनैपनि राेगसँग लड्न अौषधिले भन्दा बढी महत्व अात्मबलले राख्ने भएकाले अाफ्नाे मनाेबल उच्च राख्नुपर्छ। मानसिकता सकरात्मक भएकाे खण्डमा काेराेना
विरुद्वकाे लडाइ केहि हदसम्म सहज हुन्छ। अाफ्नाे मानसिक स्थिति स्थिर राख्नका खातिर याेग्न,ध्यान, शारिरिक व्यायाम जस्ता क्रियाकलापलाई अाफ्नाे जिवनशैलीका अंग बनाउने, श्वास-प्रश्वास सम्बन्धि कठिनाई निवारण गर्नका निम्ति कपालाेभाति, अनुलाेम-विलाेम जस्ता याेग पद्वतिकाे सहायता लिनु अत्यावश्यक हुन्छ।

त्यसैगरी काेभिड सङ्क्रमण भएपछि शरीरमा अक्जिजनकाे मात्रा कम हुनु एकदमै घातक हुन सक्ने भएकाले ‘पल्स अक्सिमिटर’ नामक यन्त्रकाे सहायताले बेला बेला अाफ्नाे अक्जिजन लेभल चेक गरिराख्नु पर्ने हुन्छ। केहि गरी अक्जिजन लेभल ९४ भन्दा मुनि देखिएमा अस्पताल जान बेर गर्नु हुदैँन। नियमित बाफ लिनाले पनि श्वास-प्रश्वासमा सहजीकरण हुन्छ।

बाजरमा काेभिड अरु केहि नभएर एउटा प्राेपागाण्डा मात्र हाे भन्ने हल्ला व्यापक रुपमा रहिरहँदा मानिसहरु यस प्रति अलि कम सजक भएजस्ताे देखिन्छ। त्यसैले काेभिड कुनै मिथ्या नभएर यथार्थ हाे भन्ने कुराकाे ज्ञान सर्वसाधरणमा हुन जरुरी छ। काेभिड सङ्क्रमण हुदैमा ज्यान नै जान्छ भन्ने नहुँदाे रहेछ तर उचित कदम चालेर अात्मरक्षा नगरेमा काेभिड ज्यानमारा कहलिन हिच्किचाउँदैन पनि।

तसर्थ सम्भव भएसम्म विभिन्न सावधानीहरु अपनाएर काेभिडबाट जाेगिने प्रयास गर्नुपर्छ। कदमकदाचित सङ्क्रमण भैहाले पनि हाैसला राखेर काेभिडसँग लडेर यसलाई परास्त गर्नुपर्छ। उचित हेरचाह र उपचारका साथै बलियाे मनाेबलका सामु काेराेना भाइरसले अाफ्ना घुँडा टेकिहाल्छ। अाज हामीलाई सङ्क्रमण पुष्टि भएकाे १२ अाैँ दिन भैसक्दा पनि पूर्ण रुपमा रिकभर भैसकेका छैनाैँ तापनि स्वास्थावस्थामा धेरै सुधार भएकाे छ। छिट्टै रहल पहल बिमारहरु पनि निकाे हुने छन् भन्ने विश्वासले अाज यति लेखेकी छु। अाखिर जिवनकाे गाडी लतार्ने इन्जिन पनि अरु क्यै नभएर हाम्राे साेच नै रहेछ। त्यसैले सकारात्मक साेचौँ र सुरक्षित रहौँ।

Comments