•   ५ माघ २०७८, बुधबार
  •   1:38:17 AM

काेराेना अनुभव : कहाँ चुकें ? कसरी जितें (आईसोलेसन डायरी–२)

- बैशाख २७, २०७८ मा प्रकाशित


कन्टयाक ट्रेसिङमा परेकोले २०७८ वैशाख १२ गते स्वाब दिएकोमा मलाई कोभिड–१९ पोजेटिभ देखियो । १२ दिनपछि अर्थात् २०७८ वैशाख २४ गते दिएको स्वाब परीक्षणको रिपोर्ट हेर्दा कोभिड–१९ बाट छुट्कारा पाएको छु ।
पछिल्लो समयमा यो रोग गम्भीर बन्दै गएकोमा मैले रिपोर्ट पाएको १४ दिनमा यसबाट छुट्कारा पाए तैपनि तपाईहरु मध्ये केही स्वास्थ्य लाभको चरणमा हुनु हुन्छ होला भने कतियप संक्रमणको जोखिममा काम गर्दै हुनु हुन्छ होला । अनेक थरी अफवाहले द्विविधा नहोस् भनेर आफ्नो अनुभव यहाँ बाँडेको छु ।


कसरी सर्यो त मलाई कोभिड–१९?
२०७६ चैत्र १० गते लकडाउनको निर्णय हुँदाको राती देखि नै यसको ब्यवस्थापन तथा दैनिक सय भन्दा धेरै सेवाग्राहीहरुलाई सवारी पास वितरण गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा रही न बिदा, न शनिवार, सदा खटिएर काम गर्दा पनि नलागेको (लागेर पनि थाहा नभएको हुन सक्छ) कोरोना यस पटक लाग्नुमा आफ्नै असावधानीलाई कारण मान्नु पर्छ ।
कार्यालयका केही कर्मचारी साथीहरुमा हाछ्यियूँ गर्ने र रुघाखोकीका लक्षणहरु देखिएका भए पनि उहाँहरुले खोप लगाउनु भएको भन्ने सोचेर अलि ढुक्क भईयो र खाजा खाने बेलामा र तातो पानी पिउने बेलामा उहाँहरुको अगाडि ःमास्क खोल्नु नै गल्ती भयो ।


लक्षणहरु के थिए?

दिनहरु यसो स्मरण गर्दा मलाई निम्न लक्षणहरु रहेका थिए:
वैशाख ५–८ः : भाईरस मेरो शरीरमा प्रवेश गरेको हुनुपर्छ ।
वैशाख ७–८ः जीउ दुख्ने (मुटुको ठीक पछाडी ढाडमा), बाईक चलाएर होला भन्ने लाग्थ्यो मलाई ।
वैशाख ९–१०ः अर्कै खालको हल्का टाउको दुख्ने, यस्तो खालको टाउको दुखाई आजभन्दा पहिला रुघाखोकी लाग्दा अनुभव गरेको थिईन ।
वैशाख ९–१२ः आँखा सुख्खा भएजस्तो हुने, स्वर परिवर्तन हुने (मसिनो, रुघा लागे जस्तो) ।
वैशाख १३–१७ः सुँघ्ने क्षमता हराउने । सन्चो नै नाकमा लगाउदा समेत कत्ति पनि थाहा नहुने । स्वाद पनि पहिले जस्तो नहुने, पूरै हराएको भने थिएन । बायाँ हातमा लामखुट्टेले टोकेको जस्ता पिंक थोप्लाहरु ४÷५ वटा देखिए । अरु बेला बिहान ६ बजे भित्र उठ्ने गरेकोमा ७÷८ बज्दा समेत उठ्न नसकिने । लामो गहिरो सास लिंदा फोक्सोको भित्र कता कता दुख्ने ।
वैशाख १८ः अब लक्षणहरु हराए ।


मलाई ज्वरो आएन, ज्वरो १÷२ पटक नापें, पछि नापिएन, स्वास फेर्न गाह्रो नभएकोले अक्सिमिटर किनिन । खाना रुचेकै थियो । वैशाख २१ सम्म हातमा आएका थोप्लाहरु पनि हटेर गए । यसर्थ, सबैको सल्लाह अनुसार अब १२÷१४ दिन पर्खेर स्वाब परीक्षण गर्ने सोच बनाईयो ।
वैशाख २२ः काठमाडौं महानगरले सञ्चालन गर्ने स्वाब परीक्षण केन्द्रमा गएर पर्खिंए । खोक्दै गरेका, ज्वरोले उभिन पनि नसक्नेहरु समेत लाइनमा थिए। त्यसमाथी सबभन्दा बढी जसलाई खोकी लागेको थियो उ नै चारै तिर डुलिरहेको थियो । म पहिले नै संक्रमितको छेउमा आएर समेत खोक्न थाले पछि मलाई समेत डर लागेर भागें त्यहाँबाट । बिध ल्याबमा गएँ महँगो भन्यो (अलि विश्वास पनि लागेन), स्टार हस्पिटल गएँ उस्तै भीडभाड, एनपिएचएलमा पनि भीडमाड । भो सकिएन त्यो दिन ।


वैशाख २३ः बिभिन्न ठाउँमा टेस्ट को लागि बुझ्दै जाँदा एनपिएचएल उचित लाग्यो । कार्यालय खुल्ने दिन बिहान ९ः३० देखि खुल्ने रै’छ ।
वैशाख २४ः बिहान ९ः३० बजे नै एनपिएचएल पुगेर फाराम भरें, रु. १,०००÷– बिल काटेर ९ः४० मा स्वाब दिएकोमा लगभग २४ घण्टाभित्र (आज वैशाख २५ मा) रिपोर्ट आउँदा पोजेटिभ देखियो ।
खानपिन, दैनिक व्यवहार
बिहान ६ बजे भित्र उठ्ने, ३ गिलास मनतातो पानी पिउने, कम्तीमा १५ मिनेट एक्सरसाइज ।
बिहान ८ बजे खाना खाने (थोरै भात, दाल वा गेडागुडी÷सिमी÷क्वाँटी, तरकारी, पिरो खुर्सानी, अदुवा, लसुन, मरीच, प्याज, टिमुर, बेसार, ज्वानो, नुन, तेल हुने नै भयो)
दिउँसो ११÷१२ बजे तिर च्याउ, गाजर, आलु, काउली, अदुवा,लसुन आदी सहित पर्याप्त पानी राखेर कुकरमा ५÷७ सिट्टी लगाउने । अनि दिउसोको खाजा भनेनी सुप भने पनि यसैलाई मानेर तताउदै खाँदै गर्ने ।
मन पर्छ भने पिरो चाउचाउको सुप, कहिलेकाँही कुखुराको मासु÷खसीको मासु को सुप बनाएर खाने, दैनिक मासु खानु त उचित नहोला ।
यति गर्दा गर्दै पनि भोक लागिराख्यो भने पानीमा ओट्स उमालेर मनतातो भए पछि महसँग मिलाएर खाए पनि हुन्छ । खानामा बार्नु पर्ने केही देखिएन । अमिलो कुरामा भिटामिन सी पाइन्छ भन्दै बेस्सरी अमिलो फलफूल नखानु नै राम्रो । खर्बुजाहरु शरीरलाई चिसो राख्ने फलफूल भएकोले ठिकै मात्रमा खाने ।
घाँटीमा रहेको कोरोना रक्सीले पखालेर जादैन । धुम्रपान र मद्यपान नगर्ने ।
यिनीहरु शरीरलाई हानी गर्ने कुरा हुनुका साथै यस्ता कुरालाई पचाउन शरीरले थप संघर्ष गर्नु पर्ने भएकोले रोग सँग लड्नलाई डिस्टर्ब गर्छन् ।
बेलुका ७ बजे तिर दाल÷गेडागुडीको सुप पिउने ।
राती ९ बजे तिर बेसार, नुन र अदुवा भएको १ गिलास मनतातो पानी खाने। १÷२ थोपा सन्चो पनि राख्दा राम्रो ।
राती १०ः३० बजे तिर मन तातो दूधमा १÷२ चम्चा मह घोलेर पिउने, ११ बजे तिर सुत्ने ।
पानी खान मन लाग्दा उमालेर मनतातो भएको पानी मात्र खाने ।
टेलिभिजन÷विशेष गरेर कोरोना भन्दा पनि तर्साउने भिडियो देखाउने समाचार च्यानल त हेर्दै नहेर्ने ।
फेसबुक कम चलाउने, धेरै फोन आउँछ भने मोबाइल फ्लाइट मोडमा राख्ने, मन पर्ने फिल्महरु हेर्ने, क्रियटिभ खालका युटुव च्यानलका कन्टेन्टहरु हेर्ने । त्यो गर्दा पनि भएन भने मज्जाले सुत्ने, आराम त हुन्छ ।
कोरोना पोजेटिभ हुन बित्तिकै फेसबुकमा शेयर नगरिहाल्ने । यसो गर्दा फोन आएर झन तनाव भै ज्वरो बढ्छ । आफू नजिकका साथीहरुलाई जानकारी गराई राख्ने ।
जति बेला पनि बेसार पानी खानु र बाफ लिइरहनु जरुरी देखिएन । मैले मुस्किलले १४ दिनमा २÷३ पटक बेसार पानी खाए होला भने २÷३ पटक पानीको बाफ लिंए होला तर तपाईलाई खोकी पनि छ र नाक पनि बन्द भईरह्यो भने पानी बाफ भने लिईरहनु होला । ज्वरो पनि नापेको नाप्यै गर्नु आवश्यक छैन । यसले झन मन आत्तिन्छ । मानिसको शरीरको तापक्रम ९८.६ डिग्री फरेनहाइट हुने भए तापनि कतिपय थर्मोमिटरमा अरु नै अंक देखाउने भएकोले शरीरको तापक्रम मापन गर्दा आफ्नो र अर्को व्यक्तिको पनि नाप्नु बुद्धिमतापूर्ण हुन्छ ।
साह्रै गाह्रो भए म के गरौंला, कसलाई फोन गरौला, पैसा नभए कसले सहयोग गर्न सक्ला, कहाँको एम्बुलेन्स, कहाँको अस्पताल, फोनमा सल्लाह दिने कुनै चिकित्सक छन कि? यी सब कुरा आज सन्चो हुँदा खेरी नै मोबाइल मा नोट गरिराख्नु होला । तपाईको फेसबुकका ४००० साथी, मोबाइलमा २००० नम्बर सेभ भए पनि परेको बेला ४ जना हुन्छन् काम लाग्ने । यी मान्छेहरुसँग सम्पर्कमा रही रहनुहोला । तत्काल आफूलाई अस्पताल भर्ना हुनु पर्यो भने चाहिने मोबाइल, चार्जर, पावर ब्याङ्क, १ जोर कपडा झोलामै नराखे पनि दिमागमा तयार गरिराख्नु होला । जसरी हुन्छ घरमै ठीक हुन्छु भन्ने सोचेर बस्नु होला, किनकी घरमा जस्तो शान्ति अन्त हुन्न । अरुहरु सन्चो भए, एउटा डोज पनि खोप नलगाएको म सन्चो भए भनें तपाई नहुने भन्ने नै छैन ।
मास्कको उचित प्रयोग जरुरी छ । सकेसम्म घरबाट निस्केदेखि नफर्केसम्म मास्क नखोल्ने र मास्कमा छुदै नछुने, छुन परे सफा हातले मात्र छुने पाठ सिकेको छु मैले ।
म संक्रमित हुनु र निषेधाज्ञाको आदेश जारी पनि सँगसँगै जस्तो भएकोले विभिन्न जिज्ञासा तथा सवारी पासको लागि अत्यधिक फोन आउने र आफू कार्यालयमा नहुँदा त्यस्ता विषयको सम्बोधन गर्न पनि नसक्ने साथै बिरामी भएको बेला झिँजो पनि लाग्ने भएकोले कार्यालयमा सहकर्मीहरुलाई जानकारी गराई मोबाइल लाई फ्लाइट मोडमा राखी अरु माध्यमबाट उपलब्ध हुने गरी बसेकोले यहाँहरुको फोन रेस्पोन्स गर्न नसकेमा क्षमा याचना गर्दै आजकै मितिदेखि पूर्ववत् रुपमा काममा जोडिने कुरा जानकारी गराउन चाहन्छु ।

Comments