•   २४ बैशाख २०७८, शुक्रबार
  •   4:32:12 PM

कोरोनाकाे दोश्रो कहर (सम्पादकीय)

- बैशाख १८, २०७८ मा प्रकाशित



अघिल्लो पटक ठुलो आर्थिक क्षति र त्रासदी दिएर फर्केको ‘कोरोना कहर’ पुनः आफ्नो नया स्वरुपमा थप घातक बनेर आइपुगेको छ । पुरा प्रभावकारी खोप बनिनसकेको,बनिसकेको भनिएका खोपहरु समेत सर्वसुलभ हुन नसकेको हालको अवस्थामा १८ बर्षभन्दा कम उमेरका वालवालिकालाइ अझ घातक भनिएको यो ‘भेरियण्ट’ अझ बढि संहारकारी देखिन्छ । हाम्रो जस्तो स्वास्थ्य क्षेत्रमा कमजोर पुर्वाधार र सीमित क्षमता भएको गरिब मुलुकमा अझ यसको प्रभाव बढी हुने सहजै अनुमान गर्न सकिन्छ ।

पछिल्लो चौबिस घण्टाको परिक्षणको नतिजालार्इ हेर्ने हो भने १५९१६ जनाको पिसिआर जाँचमा संक्रमित संख्या ५७२७ अर्थात् करिब ३६ प्रतिशत देखिन्छ । उल्लेखित जाँच संख्या संक्रमणको आशंका भर्इ जाँचका लागि पुगेको संख्या हो । हाल पहिलो चरणको जस्तो प्रत्येक स्थानीय तहमा नमुना संकलन र कन्ट्रयाक ट्रेसिङ्गको कार्यले समेत निरन्तरता नपाएको अवस्था छ । यसरी हेर्दा दोस्रो चरणको कोरोना कहरबाट अदृश्य संक्रमित संख्या अझ धेरै रहेको नहोला भन्न सकिन्न । कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या पनि दिनानु दिन बढ्दै जानु साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट संक्रमणको दर भयावह रुपले बढेकोले उपचारको लागि अस्पतालमा शैया (बेड, अक्सिजन र भेण्टीलेटर) उपलब्ध गराउन नसक्ने भनि आम नागरिकलार्इ संवेदनशील रहन गरिएको अपिलबाट पनि हामी संवेदनशील वातावरणमा रहको पुष्टी हुन आउँछ । यो संवेदनशील परिस्थितिमा अब हामी आफैँ संवेदशील हुन आवश्यक छ ।

समाजमा संकट आएको समयनै राज्यको प्रभावकारीता,राजनितिक/सामाजिक ब्यक्ति र सस्थाहरुको मानविय पक्षको तथा मान्छे भित्रको असल परिचयको उदाहरण प्रस्तुत गर्ने समय हो । जनताप्रतिको उत्तरदायीत्व र मानव कर्तव्यको परिक्षाको यो घडिमा आरोप प्रत्यारोपलाइ छोडेर यो असाधारण मानविय संकटलाइ पार लगाउन तथा इतिहासको यो घडिलाइ मान्छेहरुको एकताको उदाहरण बनाउन आवश्यक छ ।
सामाजिक सञ्जाल र मिडियाबाट छिमेकी राष्ट्र भारतले व्यहोरी रहेको चरम स्वास्थ्य संकटको हृदयविदारक भिडियो तथा तस्बिरबाट हामीले पाठ सिकी सचेत हुने आवश्यक छ । हामी सबैले स्वास्थ्य सम्बन्धि मापदण्डको पूर्ण पालना गरि यो चरम विश्व स्वास्थ्य संकटको सामना गर्न एक ढिक्का भर्इ अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कौं, बाहिर निस्कनै परे मास्क र सेनिटाइजको अनिवार्य प्रयोग गरौं, समय समयमा साबुन पानीले हात धुने गरौं ।
स्वच्छ र स्वास्थ्यवर्द्धक खानेकुरा सेवन गरौं ।
आफू बाँचौं, अरुलार्इ पनि बचाऔं ।

Comments