•   ८ बैशाख २०७८, बुधबार
  •   10:39:53 PM

सरकार परिवर्तनको बारेमा टुंगो लाउँदै माओवादी

- चैत्र २६, २०७७ मा प्रकाशित


खबर संजाल, २६ चैत्र, काठमाण्डौँ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार परिवर्तनको विषयलाई टुंगोमा पुर्‍याउन छलफल भइरहेको बताएका छन् ।

कर्णाली प्रदेशस्तरीय महिला नेता/कार्यकर्ताको भेलालाई बिहीवार सुर्खेतमा सम्बोधन गर्दै प्रचण्डले छिट्टै त्यसलाई निष्कर्षमा पुर्‍याइने बताए ।

‘सबै कुरा राख्न त भ्याउँदिन, अहिले नै नेपालगञ्ज हुँदै काठमाडौं फर्किनुपर्ने छ,’ प्रचण्डले भने, ‘​​भरे काठमाडौंमा महत्त्वपूर्ण मिटिङ छ । तपाईंहरूलाई थाहा छ सरकार परिवर्तनको छलफल चलिरहेको छ, त्यसलाई टुंगोमा पुर्‍याउनुपर्ने छ ।’

प्रचण्डले मुलुकमा प्रतिक्रान्तिको खतरा अझै कामय रहेको समेत बताए ।

‘खतराको घण्टी बजिरहेकै छ । प्रतिनिधि सभाको असंवैधानिक विघटन गर्ने काम प्रधानमन्त्रीज्यूबाट भयो । अझै पनि प्रतिक्रान्तिका खतरा कायम छन्,’ प्रचण्डले भने, ‘मैले सोचें । यो क्रान्तिलाई बालुवाटारमा बालुवा पेलेर बचाउन सकिएन । मैले एउटा संकल्प गरें र देशकै एउटा विशिष्ट कर्णाली प्रदेशमा आएको छु । काठमाडौंको घेराबन्दीलाई चिर्ने ताकत चाहिँ श्रमजीवी जनताबाहेक कसैमा छैन ।’

प्रतिक्रान्तिका षडयन्त्रलाई चिर्न फेरि एकपटक हिजोकै जस्तो स्पिरिट र हिजोको जस्तै एकता चाहिएको पनि प्रचण्डले बताए ।

Comments