•   ८ बैशाख २०७८, बुधबार
  •   11:34:29 PM

एकैपटक ३ वटा कार्यक्रम लिएर नगरपालिका विद्यालयमा

- फाल्गुन २६, २०७७ मा प्रकाशित


खबर संजाल, २६ फाल्गुण, दिक्तेल ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका एकै पटक ३ वटा विद्यार्थीमैत्री कार्यक्रम लिएर विद्यालय सम्म जान शुरु गरेको छ । कार्यक्रमहरुमा नगरपालिका भित्रका सबै विद्यालयहरुका कक्षा पाँच सम्मका विद्यार्थीहरुलाई हरेक दिन खाजा खर्च दिने, कक्षा ५ सम्मका सबै बिद्यार्थीहरुलाई टिफिन क्यारी विवतरण गर्ने, विद्यालयका सबै किशोरीहरुलाई स्यानीटरी प्याड वितरण गर्ने रहेका छन् ।

विद्यार्थीहरुलाई विद्यालय प्रति आकर्षित गर्ने र विद्यालय आउन सहज बनाउने उद्देश्यले नगरपालिकाले यी कार्यक्रमहरु ल्याएको हो ।
बुधबार नगरपालिकाको वडा नं. ६ स्थित कालिका मावि, नेर्पामा एक कार्यक्रमका विच यसको शुभारम्भ भएको छ । कालिका माविका छात्राहरुलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादवी राईले स्यानिटरी प्याड वितरण गरेका छन् । नगरपालिका भित्रका २१ वटा सहित सम्पूर्ण विद्यालयहरुमा शीघ्र वितरण भईसक्ने नगरपालिका स्रोतले जनाएको छ ।

निशुल्क स्यानिटरी प्याड वितरणसँगै नगरपालिकाले प्रत्येक विद्धालयमा एकजना महिला शिक्षिकालाई फोकल पर्सन राखेर महिनावरी शिक्षा दिने व्यवस्था पनि मिलाएको छ ।

कार्यक्रम सफल हुँदा महिनावरी भएको समयमा स्यानिटरी प्याड अभावका कारण विशेषगरी छात्राहरु विद्धालय जान अफ्ठ्यारो मान्ने, भोकका कारण साना केटाकेटी स्कुलमा नबस्नेजस्ता समस्याको जरैदेखि अन्त्य गर्नेछ ।

Comments