•   १८ फाल्गुन २०७७, मंगलवार
  •   12:57:47 AM

जेल जाने डरले दाहाल र नेपालको सातो गयो : भट्टराई

- माघ ११, २०७७ मा प्रकाशित
File Photo


खबर संजाल, ११ माघ, दिक्तेल ।
सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य विशाल भट्टराईले जेल जाने डरले माधव नेपाल र प्रचण्डको सातो गएको बताएका छन् । पछिल्ला दिनहरुमा दाहाल र नेपालले दिएका अभिव्यक्तिलाई संकेत गर्दै ललिता निवास प्रकरणमा माधव नेपाल र जनयुद्धकालिन घटनामा प्रचण्डलाई कारबाही हुन सक्ने उनले बताए ।
शनिबार दिक्तेलमा आयोजित नेकपाबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुको भेलालाई सम्बोधन गर्दै भट्टराईले केपी ओलीले कसैलाई जेल लाने प्रपन्च नरचेको तर अपराधीहरुलाई नछोड्ने समेत बताए । संसद बिघटन ओलीको बाध्यात्मक कदम भएको उल्लेख गर्दै यसकालागि बाध्य बनाउनेहरुलाई आगामी निर्वाचनमा तह लगाउन पनि अपिल गरे । उनले भने “प्रधानमन्त्रीज्यू सँग दुईवटा मात्र विकल्प थियो, एउटा गलत पात्रहरुको हातमा देश सुम्पिने र दोश्रो जनतालाई यस विषयको निर्णय गर्न दिने, ओलीले गलत पात्रलाई सुम्पिनु भन्दा जनताको बिचमा जानु उपयूक्त ठान्नुभयो ।”

यहि प्रसंगमा उनले केपी ओलीको हस्ताक्षरमा सूर्य चिह्न बाट निर्वाचित जनप्रतिनिधिहरुलाई जनताले दिएको मतको दुरुपयोग गरेर आफूखुशी कसैको पछि नलाग्न आग्रह समेत गरे । प्रदेशसभा सदस्य राजन राईलाई संकेत गर्दै भट्टराईले यो जनमत कसैको नभई सूर्य चिह्न र केपी ओलीको कारण आएको बताए । “मान्छेहरु संघमा मलाई र प्रदेशसभामा कांग्रेसको उम्मेदवारलाई भोट दिन्छौँ भन्थे, मैले चुनावी कार्यक्रममा गएर राजन जी र पासाङलाई नदिएको भोट मलाई मात्र चाहिदैँन, दिदाँ दुवैलाई दिनुस् भने आग्रह गरेँ, जसले गर्दा मेरा ३–४ हजार मत घटे ।” भट्टराईले स्मरण गरे । उनले आफ्नै स्थानीय तहमा दोश्रो भएको मान्छेले आफ्नो जनमतको धाक नदिन भन्दै एउटा व्यक्तिको पछि कोही नलाग्ने बताए ।

कार्यक्रममा भट्टराई सहित पार्टी नेताहरु खगेन्द्र राई, हरि कुमार पोखरेल, देवविक्रम राई, पिके राई, कुमार आचार्य, राम दंगाल, दिपनारायण रिजाल, सुरेन्द्र कुमार राई, विणादेवी राई, चर्च बहादुर विश्वकर्मा र सयौँको संख्यामा स्थानिय तहका जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो । यहि अवसरमा अन्य पार्टीका लगभग दर्जन कार्यकर्ताहरु समेत नेकपामा समाहित भएका छन् ।

Comments