•   ९ फाल्गुन २०७६, शुक्रबार
  •   12:34:30 AM

ह्वावेले गर्यो 6G टेक्नोलोजीको अनुसन्धान सुरु

- श्रावण ३१, २०७६ मा प्रकाशित


खबर सञ्जाल, साउन ३१ काठमाण्डौं ।

विश्वभर टेलिकम्युनिकेसन क्षेत्रमा फाइभजीको विस्तारले तिव्रता पाउन थालको छ । विश्वका आधा जनसंख्यामा मात्र फाइभजी पुग्न पनि अझै आधा दशक लाग्ने अनुमान गरिएको छ । तर, यसबीच सिक्सजी प्रविधिको अनुसन्धानसमेत सुरु भइसकेको छ । 
प्रविधिमा आफ्नो बाहुल्यता स्थापित गर्न प्रतिस्पर्धा चलिरहँदा चिनियाँ कम्पनी ह्वावेले सिक्सजीको अध्ययन सुरु गरेको समाचार बाहिर आएको छ । हालै ह्वावेले क्यानाडाको ओटावामा रहेको ल्याबमा सिक्सजी नेटवर्क टेक्नोलोजीको बारेमा अनुसन्धान तथा विकास गर्न शुरु गरेको रिपोर्टमा जनाइएको छ । हाल सिक्सजी स्ट्याण्डर्डका लागि कुनैपनि स्तर तोकिएको छैन । भाइभजीको विस्तारमै केन्द्रीत रहेको विश्वका प्रविधि कम्पनी र सरोकारवाला निकायबीच सिक्सजीबारे सैद्धान्तिक छलफल नै कम भइरहेको अवस्थामा ह्वावेले यससम्बन्धि अध्ययन नै सुरु गरेको हो । 

विश्वभर नयाँ प्रविधि विकास र विस्तारमा अमेरिका अगाडि मानिन्छ । ह्वावेका संस्थापक झेनफेइले पनि ह्वावेले अमेरिका र अन्य मुलुकले आविष्कार गरेका प्रविधिमा थप अनुसन्धान गरी सस्तोमा राम्रो उत्पादन उपभोक्तासम्म पु-याउनु उद्देश्य रहेको बताउँदै आएका छन् । यसअघि अर्को टेक कम्पनी सामसङले आफ्नो कोरियाको सिओलमा रहेको नयाँ ल्याबमा सिक्सजीको अनुसन्धान शुरु गरेको रिपोर्ट आएको थियो । साथै नोकिया, एरिक्सन र एसके टेलीकमले संयुक्तरुपमा सिक्सजी प्रविधि विकासको लागि रणनीतिक सहकार्यको घोषणा गरेका थिए ।
ह्वावेका संस्थापक रेन झेनफेईका अनुसार कम्पनीले क्यानाडामा मात्र अर्बौं रुपैयाँ लगानी गरिरहेको छ । ह्वावेको ओटावामा रहेको ल्याब एडभान्स आर एण्ड डि सेन्टरको रुपमा मानिन्छ । हाल कम्पनीले विश्वभर सबैभन्दा धेरै फाइभजी नेटवर्क परियोजनामा काम गरिरहेको छ । कम्पनीले विभिन्न १३ वटा विश्वविद्यालयहरु तथा अन्य अनुसन्धान संस्थाहरुसँग नयाँ प्रविधिहरु विकास गर्न काम गरिरहेको छ ।
अध्ययनको थालनी गरिए पनि कम्तिमा एक दशकसम्म सिक्सजीको उपभोक्ता स्तरमा प्रयोग भने हुने अवस्था नभएको बताइन्छ । ह्वावेको प्रारम्भिक सिक्सजी योजना अनुसार पनि सन् २०३० भन्दा अगाडि साँच्चिकै सिक्सजी देख्न पाइने छैन । यसअघि ह्वावेले सन् २००९ मा फाइभजी टेक्नोलोजी र स्ट्याण्डर्ड विकास गर्नका लागि मात्र तत्कालिन समयमा ६०० मिलियन डलर लगानी गरेको थियो । त्यसपछि कम्पनीले सन् २०१५ मा थप १.४ बिलियन डलर खर्च गरेको थियो ।
अमेरिकासँग व्यापार युद्ध चलिरहेको र युद्धविरामको संकेत नआइरहेको सन्दर्भमा चिनियाँ कम्पनी ह्वावेले नैतिक र आर्थिक रुपमा क्षति व्यहोरिरहेको छ । अमेरिकाले प्रतिबन्ध लगाएपछि गुगलको अपरेटिङ सिस्टमसमेत अबका ह्वावेका डिभाइसमा आउने नआउने अन्यौल रहिरहेको अवस्थामा, हालै मात्र आफ्नै अपरेटिङ सिस्टम होङमेङ सार्वजनिक गरिसकेको छ । एकातिर व्यापार युद्ध चलिरहेको छ भने ह्वावेको योजनाहरु भने दशकको सेरोफेरोमा विश्व प्रविधि जगतमा चीन वा ह्वावेले नै नेतृत्व गर्ने लक्ष्य सहित आएका देखिन्छन् ।एजेन्सी

Comments