•   ९ फाल्गुन २०७६, शुक्रबार
  •   12:15:24 AM

सहभोजमा सरिक वृद्ध आचार्य आफै बने सामाजिक बहिस्कारको शिकार

- श्रावण ३१, २०७६ मा प्रकाशित


खबर सञ्जाल, साउन ३१ खोटाङ ।
गत जेठ १८ गते खोटाङमा समाजमा रहेको जातिय छुवाछुत हटाउनको लागि आयोजना गरिएको सहभोजमा सरिक एक वृद्ध आफै सामाजिक बहिस्कारको शिकार भएका छन् । दिक्तेल रुपाकोट नगरपालिका वडा नं. १, कोलेबारी निवासी ७६ बर्षीय टंक प्रसाद आचार्यले जातीय छुवाछुतको अन्त्ये लागि सहभोजमा दलित बालिकाको हात दहि खाएका थिए ।

आचार्यको उक्त कदम छुवाछुत अन्त्येको लागि सहयोगी भएको भन्दै दोसल्ला ओढाएर सम्मान पनि गरिएको थियो । तर आफन्त र छर–छिमेकीले तल्लो जातको मान्छेसँग बसेर खाएर सामाजिक चलन बिगारेको भन्दै उनला्ई अघोषित रुपमा सामाजिक बहिष्कार गरेका छन् ।


बहिष्करणमा परे पछि न्याय खोज्दै साउन २९ गते प्रदेश नं. १ को राजधानी विराटनगर पुगेका आचार्यले प्रदेश सभामा– आफूलाई दमाई, कामी र सार्कीसँग बसेर खाएर, उनीहरुले दिएको सम्मान थापेर आफ्नो जात फालिस भन्दै समाजले बहिष्कार गरेको गुनासो पोखे । उनले भने ‘‘ मलाई कुनै पनि पुजाआज, सामाजिक काम र मरिमराउ कसैले बोलाउँदैन र मेरोमा पनि कोही आउँदैन । म र मेरो परिवार नै बहिष्कारमा परेको छ ।”

आचार्यले रुदँै प्रदेश सभा समक्ष आफूले अपराध गरेको भए दण्ड र आफू पीडित भएको भए न्यायको माग समेत गरेका छन् । उक्त विभेदको विषय प्रदेश सभामा समेत उठान भएको थियो । प्रदेश सभाको शून्य समयमा खोटाङका प्रदेश सांसद राजन राईले सामाजिक बहिष्कार अघोषित भएकोले उजुरी दिन लागि ठोस प्रमाण नभएको भन्दै दर्शकदिर्घामा आसिन आचार्यलाई देखाउदै भने–‘‘उहाँलाई हामीले कसरी न्याय दिन सकिन्छ, हामी सबै सोचौं ।”

Comments