•   २४ बैशाख २०७८, शुक्रबार
  •   3:44:44 PM

प्रदेश ५ ले गर्‍यो लक्ष्यभन्दा बढी राजश्व संकलन

- श्रावण १६, २०७६ मा प्रकाशित


खबर सञ्जाल साउन १६, २०७६,काठमाण्डौ

प्रदेश ५ ले आर्थिक वर्ष(आव) २०७५/०७६ मा लक्ष्यभन्दा बढी आम्दानी गर्न सफल भएको छ। मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारले गत आवमा गरेको खर्च, कामको प्रगति र बजेट कार्यान्वयनलाई हेर्दा लक्ष्यभन्दा बढी आम्दानी गरेको बताए।

उनले २ अर्ब ४० करोड राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा २ अर्ब ८० करोड संकलन भएको जिकिर गरे। हालसम्म संकलन भएको रकममा नै लक्ष्यभन्दा बढी भएको बताउँदै थप केही बजेट आउन बाँकी रहेको समेत उनले जानकारी दिए। ‘प्रदेशको राजस्व लक्ष्यभन्दा बढी संकलन भएको छ। अझै स्थानीय तहबाट प्रदेशको हिस्सामा आउनुपर्ने केही बजेट बाँकी नै रहेको छ। त्यसैगरी विज्ञापन तथा मनोरञ्जनको करवापत प्राप्त गर्नुपर्ने रकम पनि आउन बाँकी रहेको छ,’ उनले भने।

मुख्यमन्त्री पोखरेलले पुँजीगत खर्च कम हुनुमा केन्द्रीय सरकारको नीति, निर्देशन र योजना ढिला आउनु रहेको बताउँदै प्रदेश ५ ले अपेक्षित रुपमा खर्च गर्न सफल रहेको दाबी गरे। उनले भने, ‘हामीले केन्द्रीय बजेटलाई समेटेर हेर्ने हो भने अपेक्षित रुपमा पूँजीगत खर्च भएको छ। तर, प्रदेशको लागतलाई मात्र हेर्दा कम देखिएको हो।’

सञ्चार माध्यममा आएजस्तो गोष्ठी तथा समारोहमा बढी खर्च नभएको बताउँदै उनले भने, ‘वार्षिक २ करोड रुपैयाँ मात्र बजेट छुुट्टाइएको हो, १५ दिनमै डेढ अर्ब खर्च भयो भन्ने गलत समाचारले जनमानसमा ठूलै प्रभाव पार्दोरहेछ। सञ्चार माध्यमले सत्यतथ्यमा रहेर सम्प्रेषण गर्न आवश्यक छ।

Comments