•   ९ फाल्गुन २०७६, शुक्रबार
  •   11:35:17 PM

टी-२० विश्वकप छनोट : मलेसियाविरुद्ध टस जितेर नेपाल बलिङमा, चोटका कारण पारस टिमबाहिर

- श्रावण ८, २०७६ मा प्रकाशित


खबर सञ्जाल साउन ८ , २०७६

टी-२० विश्वकपको एसियाली छनोटअन्तर्गत वर्षाका कारण अवरुद्ध नेपाल र मलेसियाबीचको खेल सुरु भएको छ।

सिंगापुरको इन्डियन एसोसियसन मैदानमा वर्षाले प्रभावित खेल ढिलोगरी सुरु भएको हो। खेललाई ९ ओभरमा छोट्याइएको छ। नेपालले टस जितेर बलिङ गरिरहेको छ।

नेपालले सुरुवाती २ विकेट समेत लिइसकेको छ। मलेसियाका दुवै प्रारम्भिक ब्याट्सम्यानलाई सोमपाल कामीले पेवेलियन फर्काइदिएका हुन्।

पहिलो खेलमा कतारसँग ४ विकेटले पराजित भएको नेपाललाई आजको खेलमा भने जित्नैपर्ने दबाब हुनेछ। प्रतियोगिताको दाबेदार मानिएको नेपालले सिंगापुर जानुअघि मलेसियासँग भएको मैत्रीपूर्ण शृंखला ‘क्लिनस्विप’ गरेको थियो।

यसकारण पनि नेपालका लागि मलेसियाविरुद्ध खेल्न केही सहज हुने अनुमान गरिएको छ।

यद्यपि कतारसँग नेपालले कमजोर ब्याटिङ गरेको भन्दै पूर्वखेलाडी, पूर्वप्रशिक्षक एवम् प्रशंसकहरुबाट आलोचना भएको थियो। कतारविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेर नेपालले १ सय २२ रन मात्रै जोड्न सकेको थियो। कतारले १ सय २३ रनको सामान्य लक्ष ६ विकेटको क्षतिमा ४ बल अगावै भेट्टाएको थियो।

मलेसियाले २ खेलमा १ मा जित र १ मा हार बेहोर्दै अंकतालिकाको दोस्रो स्थानमा छ। नेपाल आफ्नो खेलमा हार बेहोर्दै अन्तिममा छ।

जारी एसियाली छनोटको फाइनल चरणको प्रतियोगिता जित्ने टोली टी-२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ।

चोटका कारण पारस टिमबाहिर

नेपाली टिमका कप्तान पारस खड्का मंगलबार कतारसँगको खेलमा ढाडमा समस्या देखिएपछि फिल्डिङ अवधिभर टिम बाहिर थिए। उनको स्थानमा पवन सर्राफले फिल्डिङ गरेका थिए।

चोटकै कारण पारसले मलेसियासँगको खेलमा मैदानमा उत्रिएका छैनन्। उनको स्थानमा टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले गरेका छन्।

नेपालले तेस्रो खेल शनिबार कुवेतसँग र अन्तिम खेल आइतबार सिंगापुरसँग खेल्नेछ।

Comments