•   ९ फाल्गुन २०७६, शुक्रबार
  •   12:49:29 AM

भाषामा प्राज्ञिक तहको विवाद निरन्तर प्रक्रिया हो –बास्तोला

- श्रावण ४, २०७६ मा प्रकाशित


विगत दशकमा सोलुखुम्बु बहुमुखी क्याम्पसमा उपप्राध्यापकको रुममा काम गरि हाल महेन्द्ररत्न क्याम्पसमा अध्यापनरत हेरम्बराज बास्तोलासँग खबर सञ्जालले “भाषा अध्ययन “अन्तर्गत गरिएको कुराकानी । बास्तोला नेपाली भाषासँग सम्बन्धित विषयका विद्यावारिधी शोधार्थी पनि हुन् ।

१. नेपाली भाषाको अहिलेकोे अवस्था के छ ?
नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुने छ भन्ने संवैधानिक व्यवस्था छ । नेपालमा बोलीने सबै मातृ भाषालाई राष्ट्र भाषाका रुपमा स्वीकार गरिएको छ । जनताले मातृ भाषाको रुपमा बोल्ने सबै भाषालाई समान महत्व दिनु लोकतान्त्रिक राज्यको विशेषता पनि हो । यद्यपी ४४ प्रतिशत नेपालीको मातृ भाषा तथा झण्डै शतप्रतिशत नेपालीको सम्पर्क भाषा हुनुको कारणले यो सबै नेपालीको साझा भाषा हो । सरकारी कामकाजको भाषा हुनु, पठनपाठनको भाषा हुनु, ज्ञान तथा शास्त्रको भाषा हुनुले यस भाषाका माध्यमबाट नेपाली नागरिकले आफ्नो आजिविका चलाउन सक्ने अवस्था छ । आज नेपाली भाषा नेपाल भित्र मात्र नभएर विश्वभर नै फैलने क्रममा छ । यसरी हेर्दा नेपाली भाषा नै नेपाल र नेपालीका लागि प्रमुख भाषा हो ।


२. पछिल्लो समयमा नेपाली भाषामा देखा परेका विवादहरु के हुन् ?
मलाई लाग्छ दुनिया सर्वसम्मत विषय खास केही हुन्नन् । भिन्न मत, विचार र प्रयोगका विभिन्न श्रृखलाको समष्टिगत र गतिशिल प्रक्रियाको उपज हामी समयको यो विन्दुमा छौँ र यो प्रक्रिया निरन्तर रहन्छ । भाषाको सन्र्दभमा पनि कुरा त्यही हो । नेपालको भाषाका सन्र्दभमा पनि यस्ता धेरै विवाद र आन्दोलनहरु हुँदै आए, भाषाको मूल कार्य भावको संप्रेषण हो । भावको सहि सम्प्रेषण यसरी गर्न सकिन्छ भनेर विवाद हुनुलाई सकारात्मक मात्र होइन, भाषाको गतिशिलताको लागि अनिवार्य मान्नु पर्दछ । यद्यपी भाषाको मानक स्वरुप कुन हो, एउटा स्वरुप सुनिश्चित गर्नै पर्छ । नेपाली भाषामा पनि आफ्नो मानक स्वरुप छ ।


३. ह्रस्व दीर्घको समस्याको हल कसरी गर्न सकिन्छ ?
यो विद्वत वर्गको काम हो । हाम्रो भाषामा वर्ण विन्यासका सम्बन्धमा केही अगाडी सम्म निकै पेचिला विवाद सतहमा आएको थियो । विशेष गरि दुई पक्षका यस्ता विचार हामी अनुभूत गथ्र्यौ, पहिलो भाषा प्रयोक्ताले प्रयोग गरेको भाषा वा जनजिब्रोका आधारमा व्याकरण निर्माण गरिनु पर्छ, वर्णविन्यास पनि व्याकरण कै अंश हो । उच्चारणका आधारमा वर्णविन्यास निर्माण गर्नु पर्छ । दोस्रो व्याकरणका शास्त्रीय नियम अनुरुप भाषाका प्रयोक्तालाई अभ्यस्त पारिनु पर्छ । यी दुई विचार शास्त्रीयतावाद र व्यवहारवादको द्वन्द्व हो भन्न पनि सकिन्छ । यो स्वभाविक हो । मैले भने जस्तो यी वादका द्वन्द्व प्राज्ञिक बहसका विषय भए । हाम्रा भाषाका प्रयोक्ता, शिक्षक तथा सिकारुलाई त यस्ता प्राज्ञिक बहस र विवादमा रुमलेर राख्नु भएन नी । तसर्थ नेपाल प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय तथा पाठ्यक्रम विकास केन्द्रले नेपाली वर्णविन्यासको मानक निर्माण गरि कार्यान्वयन गरि रहेका छन् । यसो हुँदा हाल प्रयोक्ताको तहमा अन्योल हुनु पर्ने आवश्यकता छैन । प्राज्ञिक तहको विवाद त निरन्तर प्रक्रिया नै हो ।


४. श, ष, स एवं व र ब को प्रयोग गर्ने बारे केही अन्तर विरोधी कुराहरु आइ रहन्छन् खासमा यस भित्रको कुरा के हो ?
मूलतः तत्सम शब्दमा संस्कृतकै नियम अनुसार हुने र तत्भव तथा मौलिक शब्दहरु उच्चारण अनुरुप लेखिने गरि पाठ्यक्रम विकास केन्द्रद्वारा प्रकाशित शैली पुस्तिका र नेपाल प्रज्ञा प्रतिष्ठानको वृहत नेपाली शब्दकोषले निर्देशित गरेकै छन् । अब प्रयोग क्षेत्रमा यो खास विवादको विषय रहेन ।


५. प्राविधिक शब्दावलीको नेपाली शब्द कसरी निर्माण गर्ने ?
पहिले यसलाई नेपालीकरण गर्ने प्रयास हुने गरेको पाइन्छ । तर विस्तारै यो असम्भव र अनावश्यक ठानिन थालेको पाइन्छ । विज्ञान तथा प्रविधिको विकाससँगै मानिसले विभिन्न नविन आविष्कारहरु गर्दै आएको छ । जुन भाषिक पृष्ठभूमिका मानिसको आविष्कार हो त्यसको नाम पनि सोही भाषाबाट हुने नै भयो । आविष्कृत वस्तु जुन सुकै स्थानमा पु¥याइए पनि आफ्नो नाम लिएर जाने नै भयो । पहिला कम्प्यूटर भनिने सामाग्री आयो, त्यसले संख्या सम्बन्धि काम गथ्र्यौ । हाम्रा अग्रजले त्यसलाई सुसांख्य यन्त्र भने । पछि कम्प्यूटरले संख्या सम्बन्धि काम मात्र नगरेर धेरै काम गर्न थाल्यो । अब सुसांख्य शब्दले त्यस सामाग्रीको अर्थ बाक्न छाड्यो । तपाईको इमेल ठेगाना दिनुस् न भनेर माग्दा हामीलाई नेपाली भाषामा दिन सम्भव छैन । तसर्थ सम्भव भए सम्म प्रयास गर्ने नत्र व्यवहारिक निर्णय लिने गर्नु पर्छ । नेपाली भाषामा यो लचकता छ । नेपाली शब्दकोषले यस्ता धेरै प्राविधिक तथा पारिभाषिक शब्दहरुलाई स्वीकार गरेको छ । यस किसिमको लचकता भाषिक जीवन्तताको लागि अपरिहार्य छ ।


६. नेपाली व्याकरण र आधुनिक व्याकरणको मापदण्ड छ की छैन ? छैन भने बनाउन के गर्नु पर्दछ ?
व्याकरण र शैक्षणिक व्याकरण भन्न उपयुक्त हुन्छ । व्याकरण भाषा तत्व हो । भाषा तत्व भाषाको ऐतिहासिकता र समसामयिक प्रयोगको स्थितीको सापेक्षतामा र अझ बदलिदो परिस्थितिमा भाषिक जिवन्तता, निरन्तरता र समृद्धिको ध्येय सहित लेखिन्छ । शैक्षणिक व्याकरण भने समसामयिक र मानक भाषामा एकरुपता कायम राख्ने उद्देश्यले लेखिन्छ । शैक्षणिक व्याकरण राज्यका अधिकारिक निकायले तोकेको नियममा आधारित भएरै लेखिने हुँदा सामान्यतया शैक्षणिक व्याकरणमा एकरुपता नै हुन्छ । व्याकरण लेखन एउटा भाषिक चिन्तनको प्रतिफल हो । प्राज्ञिक चिन्तन र स्वतन्त्र व्याकरण लेखनमा विविधता देखा पर्न सक्छ तर शैक्षणिक व्याकरणका हकमा एउटा साझा विन्दु पहिल्याउनै पर्छ, नेपाली व्याकरणका हकमा सो प्रयास हुँदै आएको छ ।


७. हाम्रो भाषाका सबल र दुर्बल पक्ष के के हुन् ?
नेपाली भाषाको सर्वाधिक सवल पक्ष भन्नु नै यसको लचकता हो । आफ्नो भाषामा उपलब्ध शब्दले कुनै भाव समेट्न सकेन भने छिमेकी भाषाका स्वभाव बोक्ने शब्द नेपाली भाषाले स्वीकार गर्छ । यो विशेषताको अभावमा संस्कृत भाषा पुरातन ग्रन्थमा सिमीत भयो । नेपाली भाषाले भने जिवन्तता र निरन्तरता पायो । यहि लचकताका कारण नेपाली भाषा विश्वव्यापीकरणका दिशामा अघि बढिरहेको छ । दुर्वल पक्षको कुरा गर्दा भाषा आफैको भन्दा पनि भाषा प्रयोक्ताका दुर्वल पक्ष बुझ्नु पर्छ । भाषामा कुनै भाव व्यक्त गर्न विकल्प सहितका शब्दहरु हुँदा हुँदै जबरजस्त आगन्तुक शब्द थोपर्ने, लिङ्ग, वचन, आदर, काल जस्ता भाषाका व्याकरणीक संगति प्रति नजरन्दाज गर्ने जस्ता कुराले नेपाली भाषाको मौलिकता माथि अनावश्यक हस्तक्षेप पनि भएको देखिन्छ । यसलाई दुर्वल पक्षको रुपमा लिन सकिएला ।


८. भाषिका र भाषाको विवादले जनगणना गर्दा समस्या भयो भन्ने सुनिन्छ ? त्यो के होला ?
नेपाली भाषाको प्रयोग र विस्तार बढ्दो छ तर जनगणनाको तथ्यांकमा घट्दो देखिन्छ । यसका निम्नानुसार निश्चित कारणहरु रहेका देखिए ।
– पहिचानका नाममा नेपाली भाषी वक्ताले पनि आफ्ना मातृभाषाका रुपमा आफ्ना पूख्र्यौली भाषाको नाम टिपाउनु ।
– नेपाली कै भाषिका अन्तर्गतका उप–भाषिकाहरु जस्तै डोढ्याली, जुम्ली, बाजुराली, अछामी आदिले भाषाकै रुपमा नाम टिपाउनु ।
मुलतः यी दुई कारणले नेपाली भाषाको तथ्यांक घटेको देखियो । जनगणनाका शिलशिलामा एकाध भाषिक प्रश्नले भाषाको यथार्थ तथ्यांक ल्याउन सकेन, अब समाज भाषिक गणनाको विधिबाटै गणना गर्न सकेमा भाषाको यथार्थ चित्र आउन सक्छ ।

९. नेपाली भाषा अध्ययन गर्न चाहनेको लागि तपाईको सुझाव के छ ?
नेपाली भाषाको तपाई कुन प्रयोजनले गर्न चाहनु हुन्छ ? यसको शुद्ध र मानक प्रयोगको उद्देश्य हो की, भाषाको शिक्षक बन्ने हो की, भाषिक निती निर्माता वा अनुशन्धाता के बनेर कसरी यस क्षेत्रमा योगदान गर्न चाहनु भएको हो, वा यी बाहेक पनि साहित्य तथा समालोचनाका क्षेत्रमा योगदान गर्ने हो की, आफ्नो उद्देश्यमा स्पष्ट भएर अध्ययन गरेमा तपाईको अध्ययनको भाषाले र समाजले योगदान पाउँछ । नेपाली भाषाको अध्ययन र प्रयोजनबाट आज आजिविका सम्भव छ । उत्साहि भएर अध्ययन गर्न सुझाव दिन्छु । विशेष गरि शिक्षणका क्षेत्रमा अन्य विषय शिक्षण गर्न नसक्ने शिक्षकले नेपाली त पढाई हाल्छ नि भन्ने धारणा अझै व्याप्त छ । यो लाजमर्दो स्थितिको अन्त्ये गर्ने काम नेपाली भाषाका शिक्षक र विद्यार्थीले मात्र गर्न सक्छन् । यस सन्दर्भमा गम्भीर भएर अघि बढ्नु उपयुक्त हुन्छ भन्ने लाग्छ ।

Comments