•   १२ आश्विन २०७७, सोमबार
  •   2:40:38 PM

खबर सञ्जाल साक्षात्कार : जगन्नाथ बास्ताेला (अध्यक्ष, नेचा सल्यान गाउँपालिका कमिटी, नेकपा )

- जेष्ठ २९, २०७६ मा प्रकाशित


मुलुकका दुई ठुला शक्तिहरु नेकपा (एमाले) र नेकपा माओबादी केन्द्र बिच एकताको घोषणा भएको एकबर्षपछि मात्र तल्ला कमिटी र जनबर्गिय संगठनको एकताले एकहद सम्म टुंगो पायो । यो बिचमा पार्टीका नेता तथा कार्यकर्ताहरुमा एकखाले अन्यौलको स्थिती सृजना भयो । दुइ फरक स्कुलिङबाट आएका नेता कार्यकर्ताहरुमा केही कुराहरुमा मतभेद पनि भयो । जुन विषय एकताको औचित्यको बारेमा हल्ला गर्न मिडियाहरुलाई राम्रो मसला बन्यो । यहि बिषयमा हामीले सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिकाका नेकपाका भर्खरै बनेको गाउँपालिका कमिटी कमिटीका अध्यक्ष जगन्नाथ बास्तोलासँग हामीले साक्षात्कार गरेका छौँ । प्रस्तुत छ, साक्षात्कारको सारांस :

  • शुरुमा यहाँलाई बधाई दिएर बिषयप्रवेश गरौँ ।
    हार्दिक धन्यवाद खबर सञ्जाल । तपाईंहरुलाई पनि शुभकामना, पत्रकारिताको क्षेत्रमा आफ्नो छाप बनाउन सफल हुनुहोला ।
  • दुई पार्टी एक भईसकेपछि आन्तरिक रुपमा नेता कार्यकर्ताहरुको प्रतिकृया कस्तो छ ?

पार्टी एकताले हामीमा अत्यन्तै ठुलो उत्साह मिलेको छ । यसका साथै चुनौती पनि सानो छैन । उत्साह के कारणले भने, एकताको कारणले यो देशमा एउटा शक्तिशाली कम्युनिष्ट पार्टी स्थापित भएको छ । राजनैतिक स्थिरता कायम भएको छ । हामीलाई विभिन्न खाले गित गाएर जुधाउन खोज्नेहरुको गित सकिएको छ । धुन सकिएको छ । ऐतिहाँसिक राजनैतिक उपलब्धी हाँसिल भएको छ ।
चुनौती के हो भने, हामीबाट यो देशले र सम्पूर्ण जनताले धेरै ठुलो आशा गरेका छन् । त्यो आशालाई जोगाएर, जगाएर, उपलब्धी हाँसिल गर्नु आफैमा चुनौतीपूर्ण छ । फेरी पार्टी भित्र पनि कार्यकर्ता समायोजन कसरी गर्ने भन्ने समस्या छ ।यति धेरै कार्यकर्ता तथा नेताहरु छन् कि यहाँ एक हिसाबले भन्ने हो भने राजनैतिक बेरोजगारीको स्थिती सृजना भएको छ । सबैलाई उपयुक्त जिम्मेवारी कसरी दिन सकिन्छ भन्ने कुरा अहिलेको महत्वपूर्ण विषय हो ।

  • तपाईं गाउँपालिका कमिटीको अध्यक्ष भएको हैसियतमा त्यहाँका दुई खाले स्कुलिङबाट आएका नेता कार्यकर्ताहरुलाई कसरी मिलाएर लैजानुहुन्छ ?

स्वभाविक हो, यस्तो समयमा पार्टी भित्र अलि अलि सामान्य विचलनहरु आउँछन् । यसलाई आपसी समझदारीबाट पनि टुंगो लगाउन सकिन्छ । जहाँ सम्म कार्यकर्ताहरुलाई मिलाएर लैजाने सवाल छ, योग्यता र क्षमताका आधारमा कार्यकर्ताहरुलाई विभिन्न खाले जिम्मेवारी दिएर एक खाले प्लेटफर्म तयार गरियो भने यो विषयबस्तु त्यति जटिल हो झैँ मलाई लाग्दैन । यसमा विभिन्न आग्रह पुर्वाग्रह राखेर, गुट या पुर्व समूहको आधारमा बिभेदको निति लाई अंगिकार गरियो भने यो जटिल बिषय बन्न सक्छ । तर यसो नगरी सबै कार्यकर्ताहरुलाई योग्यता र क्षमताको आधारमा जिम्मेवारी दिन सकियो भने यो स्थिती आउँदैन । यो विषयलाई व्यवस्थापन गर्न मैले सक्छु र गर्छु भन्ने कुरामा विश्वास दिलाउन चाहान्छु । यसले ठुलो समस्याको रुप लिदैँन ।

  • नयाँ बनेका कमिटी र यसका पदाधिकारीहरुको प्रमुख चुनौतीहरु के के हुन सक्छन् ?

पार्टी एकता हुने सन्दर्भमा माथिल्लो कमिटी बाट शुरु भएर तल्लो कमिटी तर्फ कमिटी गठन हुँदै आएको छ । पहिला पहिला तल्लो तह बाट अधिवेशन हुँदै माथिल्लो कमिटीको अधिवेशन हुने अभ्यास थियो यसमा विचलन आउँदा केही समस्याहरु देखिएका छन् । अर्को चुनौती के हो भने यतिबेला जनप्रतिनिधिहरुको कार्य सम्पादन हेर्दा पार्टीका कमिटीहरु नभएको अवस्थामा जनप्रतिनिधिहरु केही हदसम्म स्वेच्छाचारी बनेको जस्तो पनि देखिन्छ । घोषणापत्रलाई बेवास्ता गरेर आफ्नै ढंगबाट नि केही कामहरु गरेको पाइन्छ । अहिले जनप्रतिनिधिलाई घोषणापत्र अनुरुप काम गर्न दवाव दिइएन भने पछि जनतालाई यसको जवाफ पार्टीले दिनुपर्छ, यो पनि एउटा चुनौती हो । अर्को कुरा फरक स्कुलिङ बाट आएका नेता कार्यकर्ताहरु एकठाँउमा एउटै विचारधारामा लिएर जानु पनि आफैमा एउटा चुनौती हो । मुलत : नवगठित कमिटी एवं पदाधिकारीहरुका चुनौतीहरु यिनै हुन ।

  • एकता प्रकृयाको बारेमा स्थानिय रुपमा या राष्ट्रिय रुपमा कति असन्तुष्टिहरु छन् ?

स्वभाविक रुपमा असन्तुष्टिहरु छन् । अधिवेशनको प्रकृयाबाट कमिटीहरु बनेका थिए भने असन्तुष्टिहरु अलि कम हुन्थे होला । तरपनि महत्वपूर्ण कुरा के हो भने यो मुलुकले एउटा बिशाल कम्युनिष्ट पार्टी पाएको छ, स्थीर सरकार पाएको छ । राजनैतिक स्थिरता पाएको छ । यसको तुलनामा असन्तुष्टिहरुको मुल्य कम हुनजान्छ । यो सहायक कुरा हो । विस्तारै नमिलेका सबै कुराहरु मिल्दै जान्छन् । पार्टीलाई सिस्टममा कसरी लैजाने भन्ने चिन्ताचाहीँ हामीमा हुन आवश्यक छ ।

  • माथील्लो कमिटी र यसका पदाधिकारीहरुलाई तपाईँका सुझावहरु के के छन् ?

पछिल्लो समयमा पार्टी भित्र केही विकृतीहरु देखिएका छन् । व्यक्ति तथा समूहहरु हावी भईरहेका छन् । योग्यता र क्षमता भएका मान्छेहरु गुट या अर्को केही नाममा पछाडी परेका छन्, पारिएका छन् । यसले हामीलाई झन पछाडी पुर्याउँछ । यस्ता कामहरुलाइ निरुत्साहित गर्न नेतृत्वलाई अनुरोध गर्दछु । नेपाल सरकार यतिबेला “समृद्ध नेपाल, सुखी नेपाली” को नारासहित अगाडी बढिरहेको छ । यसलाई सफल बनाउने जिम्मेवारी हामी सबैको हो । नेपालमा कम्युनिष्ट पार्टीलाई स्थायीरुपमा शक्तिशाली पार्टीको रुपमा स्थापित गर्ने हो भने यो नारा र सरकारलाई सफल बनाउन जरुरी छ । यसकालागी हामी सबैले आफ्नो ठाउँबाट आफ्नो भूमिका निर्वाह गर्नुपर्दछ । बिशेषगरी माथिल्लो कमिटीका नेताहरु यसकालागी अलि जिम्मेवार हुन्छन् । यो कुरामा संवेदनशिल हुनुपर्छ भन्ने नै मेरो सुझाव हो ।

तपाईं या अरु नेकपाका कुनै कमिटीका पदाधिकारीहरु र नेकपाबाट निर्वाचित जनप्रतिनिधि बिचको सम्बन्ध कस्तो रहन्छ ?

संघियताको मर्म अनुसार बनेको अधिकार सम्पन्न स्थानिय सरकार यति बेला देशभरका स्थानिय तहहरुमा छन् । त्यसमा पनि बहुमत जनप्रतिनिधिहरु नेपाल कम्युनिष्ट पार्टी पृष्ठभूमी बाट निर्वाचित छन् । पार्टी र जनप्रतिनिधिहरुको सम्बन्ध परिपूरक हुन । दुई बिच आपसमा छलफल र एकखाले समझदारी हुन आवश्यक छ ।
निर्वाचन ताका हामी आफ्नो घोषणापत्र र प्रतिबद्धताहरु लिएर जनताका बिचमा गयौँ । ति कार्यक्रमहरु केही चेतना विकाससँग सम्बन्धित थिए केही दिगो विकासको अवधारणा अनुरुप भौतिक विकास सँग सम्बन्धित थिए । ति कार्यक्रमहरु अहिले सम्म आइपुग्दा कुन हदसम्म सफल भए ? यसको अध्ययन जनप्रतिनिधिसहित हामीले गर्छौँ । किनकी भोली कुनै काम हुन नसकेको खण्डमा त्यसको जवाफ त पार्टीले दिनुपर्छ । पार्टीको कमिटी नहुँदा उहाँहरुलाई त्यो बेला अभिभावकत्वको पनि खाँचो पर्यो होला यहिकारण कति कामहरु भनेजस्तो भएनन होला अब यो सबैकुराको समिक्षा पनि हुन्छ ।

Comments