•   २१ असार २०७९, मंगलवार
  •   8:44:25 PM

कोरीयाको भिसा गोजिमा बोकेर नेपाली माटो मै उद्यमी बनेका सुरमर्दनको कथा-सुवास जमरकट्टेल

- असार २५, २०७८ मा प्रकाशित


हिमाली जिल्ला सोलुखुम्बुको साविक सल्यान गा.वि.स.को दोधीस्थित गरिब परिवारमा जन्मेका सुरमर्दन बस्नेतको बाल्यकाल निकै दु:खदायी थियो । बस्नेतका बुबाआमाको कुनै जागिर थिएन् जसका कारण पाखाबारीमा परम्परागत कृषि पेशा गर्दथे । बुबाआमालाई खेतबारीमा सर सहयोग गर्दै गाँउकै सरकारी स्कुलबाट जेनतेन १२ कक्षासम्मको अध्ययन पूरा गरे । गाँउघरको चलन, घरायासी करकापमा सानै उमेरमा उनको विवाह भयो । विवाह पश्चात् १७/१८ बर्षको कलिलै उमेरमा पारिवारीक जिम्मेवारी उनको काँधमा आइलाग्यो । घरमा आम्दानीको स्रोत नहुँदा घर खर्च धान्नै मुस्किल हुन्थ्यो । श्रीमती तथा पारिवारीक व्यवस्थापनको लागि सुरमर्दनले घर छोड्नै पर्ने भयो । कहाँ जाउ, के गरौं ?भनेर सोच्दा सोच्दै उनले भारतको कोईला खानीमा काम गर्ने आफन्तहरु सम्झे । उनीहरु घर आएको मौका पारेर उनी पनि आफन्तको साथ लागेर कोईला खानी पुगे ।

सानो तथा खियाउटे जिउडाल भएको मान्छे त्यो कोईलाखानीको गर्मी, धुवा, धुलोमा कोईलाको भारी बोक्नु उनकालागि महाभारत पहाड बोक्नु जतिकै कष्ट भयो । १० महिनाको कठिन परिश्रम पश्चात उनी आफ्नो घर फर्किए । १÷२ महिनाको बसाई पछि घरमा पुरानै समस्याले सताउनथाल्यो । उनले फेरी घर छाडेर परदेश लागे । त्यो पटक भने उनले बाटो फरक रोजे, जुन बाटोले उनलाई देशको राजधानी काठमाडौं टेकायो । जागिरको खोजिमा उनले राजधानीका धेरै गल्लि र प्राइभेट कम्पिनीमा चाहारे । कतै नपाईए पछि एउटा साथिको साथ लागेर रत्नपार्कको फुटपाथमा झोला बेच्ने काम सुरु गरे ।

फुटपाथमा व्यापार गर्दाका दु:खद कहानी निकै छन् उनका । कहिले नगर प्रहरीले खेदाउने, कहिले ट्यापे केटाहरुले हप्काउने थर्काउने, कहिले सामान चोरी हुने, कहिले झरी, बादल र हुरी बतासको सामना गर्नु पर्ने यी विविध दु:ख कष्टको सामना गर्दै ३ बर्षसम्म उनले त्यही पेशालाई निरन्तरता दिए । तिनै झोला बोकेर बेच्दै हिड्ने क्रममा एक दिन उनका आँखा बागबजारको एउटा ठूलो साइनबोर्डमा गएर ठोकीए । त्यो थियो कोरियन भाषा प्रशिक्षण गराउने इन्सिच्युटको साइनबोर्ड । उनले पनि अब कोरियन भाषा पढेर कोरिया जाने सपना देख्न थाले । “भागवतगीतामा भगवान श्रीकृष्णले तँ चिता म पुर्‍याउँछु ।” भनेझैं उनले मेहनत गरेर भाषा पढे । ६ महिना अध्ययन गरे पछि केहि समय उनले सोही इन्सिच्युटमा भाषा प्रशिक्षकको रुपमा पढाए पनि । फलस्वरुप उनले कोरियन भाषा परिक्षामा नाम निकाले । जिन्दगीमा पहिलो पटक ठुलो प्लेन चढेर सपनाको सहर दक्षिण कोरिया पुगे ।

व्यवस्थित, अनुशासित, प्राविधिक र नियमसंगत ढङ्गबाट काम गरिने उक्त ठाँउमा थोरै जनशक्तिले धेरै काम गरेको देखेर उनी चकित परे । ठुलो रुखको ओत लाग्नु भने झैं त्यहाँ बस्दा उनले कम्पनिको मुख्य मालिकसँगै बस्ने सु-अवसर पाए । जसको कारण धेरै ज्ञान, सीप र अनुभव हाँसिल गर्ने मौका मिल्यो । कोरियामा बस्दा घर परिवारको रेखदेख गर्दै छोरा छोरीलाई काठमाडौंको सुविधा सम्पन्न बोर्डिङ स्कुलमा ल्याएर पढाउन सुरु गरे । पारिवारीक घर खर्चबाट बचेको पैसाले काठमाडौको स्वयम्भु र भक्तपुरको दधिकोटमा घडेरी जोडे । ५ वर्षको पहिलो कोरिया बसाईको समय पूरा गरेर नेपाल फर्कने सुरसार गर्दै गर्दा विश्व भरिनै कोरोनाभाइरस ( Covid – 19) को महामारी सुरु भयो । एक दुई गर्दै धेरै देशहरुले लकडाउन सुरु गरे । फलस्वरुप नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । संक्रमणलाई फैलिन नदिन लकडाउन भयो । आफ्नो मातृभुमी फर्किउ लकडाउन छ काम गरौं कामको करार तथा भिसाको समय सीमा सकियो । यो चपेटामा २/३ महिना कोरिया मै बन्दि बने । पछि नेपाल सरकारले वैदेशिक रोजगारीमा भएका भिसाको म्याद सकिएका, अफ्ठ्यारोमा परेका नागरिक उद्घार गर्ने क्रममा उनी पनि नेपाल फर्किए ।


कोरोना भाइरसको प्रकोप घटि हाल्छ अनि पुनः कोरिया नै फर्किने सोच बनाएर नेपाल आएका बस्नेत फेरी मातृभूमी मै बेरोजगार बने । कोरिया खुल्छ अनि जाने भन्दा भन्दै ५ महिना बित्यो तर खुल्ने छाँटकाँट देखेनन् । घरमा बसेर हेर्दा उनी मात्र हैन घरका अरु सबै सदस्य बेरोजगार भएको याद आयो । आफु कोरिया जाँदा आफु मात्र रोजगार हुने अरु बाँकी बेरोजगार नै रहने देखेर उनले अब मातृभूमीको माटो मै पसिना बगाउने र घरका सबै सदस्यलाई रोजगार र मालिक बनाउने दृढ संकल्प गरे ।


सोही अनुसार सुरमर्दनले आफ्नो सपना पूरा गर्न भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नं. ६ स्थित सिरुटारमा ३५ रोपनी बाँझो जग्गा भाडामा लिएर तरकारी खेती सुरु गरे । बजारमा पाइने कम्सल, गुणस्तरहीन र रासायनिक मल प्रयोग गरेका विषादीयुक्त तरकारीका सट्टामा आफ्नो फर्ममा आर्गनिक तरकारी उत्पादन गर्न उनले सुरु देखि नै त्यहि अनुसारको संरचना तयार पारे । प्रकृतिमैत्री ४५ वटा ग्रिनहाउस ( प्लास्टिक टनेल ) बनाएर इनडोर तथा बाँकी जमिनमा आउटडोर तरकारी खेती सुरु गरे । कम्पोष्ट मल बनाउनको लागि एउटा खोरमा २००० वटा अण्डा दिने लेयर्स कुखुरा पनि पालेका छन् । उक्त कृषि फर्ममा बस्नेतले हाल सम्म ८५ लाखभन्दा बढि रुपयाँ लगानी गरी सकेका छन् । सुरुमा त ठुलो लगानी लगाईयो लगानी अनुसारको उत्पादन हुँदा बिक्री गर्ने बजारको अभाव हुन्छ की भन्ने डर थियो उनलाई तर अहिले उत्पादन सुरु भए पछि होलसेल तरकारी व्यापारीहरु, आर्गनिक कृषि मार्ट र डिपार्टमेन्टल स्टोर्सका मालिकहरु नै आफ्नो फर्ममा तरकारी लिन गाडी लिएर आँउदा निकै खुसी लागेको छ उनलाई । अहिले उनको फर्ममा कोरियन काँक्रा, लोकल काँक्रा, युरोपियन काँक्रा,लामो बोडी, टमाटर, भिन्डी, सिमि , लौका, फर्सी, भण्टा, साग ( चाइनिज साग, जापानिज रायो, मार्फा रायो ), घिरौला, तिते करेला, काउली, ब्रोकाउली र बन्दाकोबीको उत्पादन सुरु भई सकेको छ ।

अकबरे खुर्सानी लगायत केहि तरकारीहरु उत्पादन दिने तरखरमा छन् । हाल सबै खाले तरकारी दैनिक १००० केजि बिक्रीगर्दै गरेका बस्नेतले १/२ दिन पछाडी दैनिक १५०० केजि उत्पादन गर्ने लक्ष्य राखेका छन् । उनको फर्ममा पसेर हेर्दा हेरिरहुँ लाग्ने गरी तरकारीहरु फलेको देख्दा सबैको मन लोभिन्छ । उनले तरकारीमा लाग्ने रोग र किटाणुको जानकारी तथा रोकथामको लागि एक जना कृषि जेटिएलाई प्रविधिकको रुपमा राखेर जागिर दिएका छन् । त्यसका साथै उनले गाँउघरमा बेरोजगार बनेका भाइ, भतिजा र छिमेकी लगायत १४/१५जनालाई रोजगारी दिएका छन् । बस्नेतलाई मुख्य रुपमा सालो भाइ शंखर कार्कीले संरचनाको डिजाइन र व्यवस्थापकीय जिम्मेवारीमा सहयोग गरेका छन् । साथै श्रीमती कल्पना बस्नेतले पुर्ण रुपमा सहयोग गरेकी छन् । उनलाई फर्म सञ्चालनको लागि भक्तपुर कौशलटारस्थित मोलुङ्ग बचत तथा ऋण सहकारी संस्थाले आर्थिक सहायता गरेको छ । हाल बस्नेतको फार्ममा भेटेनरी तथा कृषि जेटिए प्रविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरुसमेत प्राक्टिकल अध्ययनको लागि समेत आउने गरेका छन् ।

परिश्रम गर्ने हो भने हुने रहेछ भन्ने कुराको उदाहरण बनेका बस्नेतले अहिले कुखुराको अण्डा तथा तरकारी दैनिक ४० देखि ५० हजार रुपयाँ बराबरको व्यापार गरि रहेका छन् । वैदेशिक रोजगारीको लागि धेरै जसो युवाहरुले रोज्ने दक्षिण कोरियाको भिसा हातमा बोकेर मातृभूमीको माटोमा खेलि रहेका बस्नेत एक उदाहरणीय युवा हुन् । विदेशमा बसेर अर्काको दास बन्नु भन्दा आफ्नै देशमा परिश्रम गर्ने हो भने आफैं मालिक बनेर घर परिवार, छोरा छोरीसँगै बसेर पनि विदेशको भन्दा धेरै कमाउन सकिने रहेछ भन्ने कुरा उनले छोटो समय मै देखाई सकेका छन् ।

युवा उद्यमीको उद्यमशीलताको फोटो फिचर:

Comments